नेपालमा किसानहरुले परम्परागत रुपमा खेतीपाती गर्दै आइरहेकोले कोसेबाली/दलहनबालीहरुको उत्पादन र उत्पादकत्व वृद्धि गरि समग्र कृषि क्षेत्रको विकासमा मद्दत गर्न उपयुक्त प्रविधिहरु अध्ययन–अनुसन्धान बाट पत्ता लगाई कृषि प्रसार मार्फत् किसानहरु समक्ष पुर्याउन अति आवश्यकता महसुस गरिएको थियो । त्यसैले कोसेबालीहरुको उन्नत खेती प्रविधि तथा जातहरु विकास गर्ने उदेश्यले बि.सं. २०२९ सालबाट बाली विज्ञान महाशाखा, खुमलटार, ललितपुर र कृषि केन्द्र, परवानीपुर, बारामा कोसेबाली विशेषगरी चना, मसुरो, भटमास, मास र मुंग सम्वन्धि अनुसन्धान शुरु गरिएको थियो l पछि, आ.ब. २०४३/२०४४ मा तत्कालिन कृषि केन्द्र, रामपुर चितवनबाट १४.१ हेक्टर जमिन लिई राष्ट्रिय कोसेबाली विकास आयोजनाको रुपमा स्थान्तरण गरिएको थियो l
देशको कृषि विकासमा नयाँ गति दिनको लागि कृषि अनुसन्धान कार्यलाई प्राथमिकता दिई अनुसन्धान कार्यलाई अझ बढि प्रभावकारी बनाउनको लागि श्री ५ को सरकारबाट नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ऐन २०४८ अन्तर्गत नेपाल कृषि अनुसन्धान परिषद्को स्थापना गरे पश्चात यस राष्ट्रिय कोसेबाली विकास आयोजनाको नाम राष्टिय कोसेबाली अनुसन्धान कार्यक्रम राखिएको थियो l हाल यो कार्यक्रमको नाम परिमार्जन गरि कोसेबाली अनुसन्धान कार्यक्रम राखिएको छ l बि.सं. २०७१ साल असोजमा चितवनबाट तत्कालिन क्षेत्रीय कृषि अनुसन्धान केन्द्र, खजुरा, बाँकेबाट ८.० हेक्टर जमिन लिई स्थान्तरण गरिएको थियो l हाल यो कार्यक्रम लुम्बिनी प्रदेशको जानकी गाउँपालिका वडा नं. ४ मा सामुद्रीक सतह देखि १८१ मिटरमा २८º ०६’ ३६.६१“ उत्तरी अक्षांस र ८१º ३५’ ४२.६३“ पूर्वी देशान्तरमा अवस्थित छ ।